९६ वर्षमा नागरिकता
बझाङ | फागुन १२, २०८१
बझाङ: वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।
“घरभित्रै बसिरहन मन मान्दैन,” उहाँले भन्नुभयो, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।”
थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिनुहुन्छ । “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्”, तुलसीले भन्नुभयो ।
तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उहाँलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो ।
थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताउनुभयो । उहाँले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउनुभयो ।
बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उहाँ एकल हुनुभएको हो ।
सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । “मेरा लागि त यही संसार हो,” तुलसीले भन्नुभयो, “माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।”
पोखरा: कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रति...
काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

